सानिमा बैंक लिमिटेडको मान्म शाखाले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेवल माध्यमिक विद्यालयमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। “Smart Money Talks” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका शाखा प्रमुख सुशील बिष्ट र अन्य प्रतिनिधिहरूले विद्यार्थीहरूलाई बचतको महत्त्व, बजेट व्यवस्थापन र आधुनिक बैंकिङ प्रणालीका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा पछिल्लो समय बढ्दै गएको डिजिटल वित्तीय ठगी र त्यसबाट बच्ने उपायहरूका बारेमा विद्यार्थीहरूलाई सचेत गराइएको थियो। मोबाइल बैंकिङ र अनलाइन भुक्तानी गर्दा अपनाउनुपर्ने सावधानीका साथै आवश्यकता र इच्छा (Needs vs. Wants) बीचको अन्तर बुझेर खर्च गर्ने सीप विकास गर्नुपर्नेमा प्रशिक्षकहरूले विशेष जोड दिएका थिए। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिएको छ। कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले विद्यार्थीहरूका लागि यो सत्र अत्यन्तै उपयोगी र समयसान्दर्भिक रहेको भन्दै सानिमा बैंकप्रति आभार प्रकट गरेको थियो।





