काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कार्यकाल पूरा नहुँदै मन्त्री पदबाट बाहिरिएका तत्कालीन क्याबिनेट सदस्यहरूप्रति आफूलाई कुनै असन्तोष वा गुनासो नरहेको स्पष्ट पारेकी छिन्। सोमबार राष्ट्रिय सभाको बैठकमा पहिलो पटक सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीका अनुसार, हाल मन्त्री पद त्यागेर चुनावी प्रतिस्पर्धामा उत्रिएका ती मन्त्रीहरूले मन्त्री बन्नुअघि नै सक्रिय राजनीतिमा लाग्ने योजना रहेको बताएका थिए।
राजनीतिमा लाग्ने थाहा हुँदाहुँदै पनि जेन-जीकै प्रेसरमा उनीहरुलाई मन्त्रि बनाइएको र सोही अनुसार नै बिदा गरेर पठाइएको पनि प्रधानमन्त्री कार्कीले बताएकी छिन् । ‘…जेन-जीको प्रेसरमा उनीहरु आएका हुन् । आए, गए ।’ उनले भनिन्, ‘अहिले सम्पर्क छैन ।’
मन्त्री रहुन्जेल उनीहरुले चिया मात्र खाएर काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले उनीहरुलाई दोष नलगाउन पनि आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।
